आज मन अस्थिर छ| खै किन, आफ्नो आफैँमा नियन्त्रण छैन| उनको
याद आउँदा सम्पूर्ण इन्द्रियहरु निस्कृय भएझैँ महसुस हुन्छ| अझै पनि म उनलाई लिएर
दोधारमा छु जस्तै लाग्छ| हुन त उनी मसंगै छिन्, तैपनि नजिक भएर पनि टाढा भएझैँ लाग्छ| के मैले जसलाई मायाको
नाम दिएँ, त्यो केवल एक भ्रम थियो त? म यहि प्रश्नको गहिरो सागरबाट निस्कने प्रयास
गरिरहेको छु| मैले सायद उनलाई बुझ्न सकिन या सायद उनले मलाई बुझ्न सकिनन्|
मलाई लाग्थ्यो कुनै पनि सम्बन्ध भरोसाको आधारमा टिकेको
हुन्छ! त्यसमा पनि प्रेम सम्बन्ध जसमा दुई अपरिचित जोडी एक-अर्काको हुन पुग्छन्,
त्यस्तो सम्बन्ध त केवल विश्वासमा नै अडेको हुन्छ| हैन र?!
मलाई त उनको यो प्रेम, खेल लग्न थालिसकेको छ जसमा म आफुलाई
एक हास्यपात्र भन्दा बेसी ठान्दिन| म उनलाई यति धेरै माया गर्छु तर उनको मनमा भने
के छ कोनी! उनले त मलाई आफुलाई बुझ्ने मौका र समय नि दिएकी छैनन्| तर यति सबै
कुराको बावजुद पनि उनमा केहि विशेष छ, जसले गर्दा म उनलाई भुलाउन सकिरहेको छैन|
उनीसंग गरेका कुराहरु, उनको मुहार, उनको त्यो हाँसो, सबै
दिमागमा कुनै उपग्रहहरुझैँ घुमिरहेका छन्| उनको मुहार तथा सम्झना आउनुलाई म
सकारात्मक संकेत मानौं कि नकारात्मक? के भइरहेको छ मलाई आजभोली!
मेरो र उनको प्रेम सम्बन्धको नि लगभग एक वर्ष हुन लागेको छ,
अर्थात् अर्को ‘प्रेम दिवस’ नजिकिदै छ| तीन वर्ष अघि उनी सामु राख्न नसकेको मेरो
प्रेम अधुरै रहेको थियो| मलाई त मेरी स्वप्न परीसंगको मिलन सपना नै रहने जस्तो
लागेको थियो| तर, अन्ततः गत वर्ष मेरो अधुरो प्रेमले सफलता पायो| मेरो प्रेम विजयी
भयो| मैले आफ्ना सारा भावना आखिर उनी समक्ष व्यक्त गरेँ| आश्चर्यको कुरा के थियो भने
उनी पनि मलाई मन पराउँदी रहिछिन्|
सबै ठिक चलिरहेको थियो तर म आउने परिस्थितिबाट अनविज्ञ
थिएँ| मलाई थाहा थिएन कि मेरो जीवनले कुन मोड लिन आँटेको छ, उनी र मेरो प्रेम
सम्बन्धमा कस्तो असर पर्न गइरहेको छ|
‘प्रेम दिवस’ मा अड्केको मेरो प्रेम कथा, प्रेम दिवसमा नै
सफल भएर आज फेरि ‘प्रेम दिवस’ मा नै अड्किन पुगेको छ| अनौठा सोचहरु दिमागमा आउने
गर्छन्| विभिन्न परिकल्पनामा म आफुलाई डुबेको पाउँछु| कोहि-कोहि बेला त लाग्छ
महान् साधु, महात्मा र तपस्वीहरुले यि सबै भौतिक मोहको त्याग गरेर साँचैको संसारिक
जीवनबाट मोक्ष प्राप्त गरेका छन्|
