छोरी



हिजो म आफ्नो एउटा साथी भेट्न धरान स्थित वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गएको थिएँ| ऊ मेरो सानै देखिको एकदमै मिल्ने साथी थियो| हामीले स्कुल र कलेज संगै पढ्यौँ| तर +२ पछि हाम्रो बाटो छुट्टियो| उसको इच्छा डाक्टर बन्ने थियो र उसले त्यहाँ MBBS पढ्न थाल्यो अनि म चाहिँ BSW (Bachelors in Social Work) पढ्दै छु| मैले उसलाई भेटेँ, अनि हामी बीच थुप्रै कुराकानी भए| उसको पनि त्यो दिन बिदा परेकोले हामी अस्पताल परिसर घुम्दै वार्तालाप गरिरहेका थियौँ| त्यतिकैमा मेरो आँखा नजिकैको विभागमा पर्यो| सायद त्यो प्रसुतिगृह थियो जस्तो मलाई लाग्यो किनकि त्यहाँ महिलाहरुको लाम लागेको थियो र कसै-कसैको साथमा उनीहरुको श्रीमानहरु नि होलान्! तर त्यहाँ अनौठो कुरा के थियो भने, तिनीहरुको मुहारबाट खुशी भन्दा बेसी डर झल्किन्थ्यो|

पछि मेरो साथीसंग मैले त्यो कुराको बारेमा बुझ्दा, उसले मलाई उनीहरु त त्यहाँ गर्भपतन गराउनका लागि आएको बतायो| उनीहरु त्यसलाई MTP (Medical Termination of Pregnancy) भन्दा रहिछन्| तर यो कुरालाई खास कसरी व्यक्ख्या गरिएको छ भन्दा खेरी, यो सुविधा त्यस्तो जोडीहरुको लागि हो, जसले संभोग गर्दा कुनै गर्भनिरोधकले काम गरेन, अनि नचाहँदा नचाहँदै पनि गर्भ रहन गएमा, या फिर कुनै बलात्कारको घटनामा गर्भ बस्न गएमा त्यसलाई पतन गराउने, तर मान्छेहरु यस्तो सुविधाहरुको गलत प्रयोग गर्न नि पछि पर्दैनन्| त्यहाँ कति वटा जोडी त भर्खरका युवा-युवती थिए, सायद जवानीको जोसमा गरेको पाप, भ्रुणको रगतबाट धून चाहान्छन्| जीवन-मरणको यस प्राकृतिक चक्रमा यी क्रुर मनुष्यको यस्तो हस्तछेप सम्झिदा त रिस नै उठेर आउँछ भन्या!

अझ यो संसारमा अझै यस्ता मान्छेहरु नि छन् जो छोरीहरुलाई यो धर्तीमा पाइला टेक्नु अगावै मृत्युको घाट उतारीदिन्छन्| संसारमा हरेक प्राणी बाँच्न चाहन्छ र कुनै पनि प्राणीको बाँच्ने अधिकार कसैले नि छिन्न पाउँदैन| अरु प्राणीको त कुरै छाडौँ, आज त छोरीहरुलाई कोखमा नै माँरिदैछ| "यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता”, अर्थात् जहाँ नारीहरुको पूजा गरिन्छ त्यहाँ देवता निवास गर्छन्, यस्तो शास्त्रमा लेखेको छ रे! तर छोरी-चेलीहरुको संख्या दिन प्रति दिन कम हुनुले हाम्रो दोहोरो चरित्र उजागर गर्छ|

जब आमाको गर्भमा रहेको छोरीको हत्या गरिन्छ, तब “आमा मलाई बचाऊ!” जस्ता गुहरको स्वर कुनै हाँस्यस्पद कुरो नभएर एउटा दर्दनाक सत्य हो| गर्भमा भइरहेको भागदौड आमाले नै महसुस गर्छिन् र सहन्छिन् पनि| तर फेरी कोहि-कोहि आमा भनाउँदाहरु चाहिँ कसरी यति सम्म निर्मम र क्रुर हुन सक्छन् आफ्ना सन्तान (छोरी) प्रति?

त्यो अवोध जीव जसको हत्या गरीँदैछ, उनीहरु मध्ये कोहि पारिजात (वरिष्ठ साहित्यकारà शिरिषको फूल), कोहि पासाङ ल्यामु शेर्पा (पहिलो महिला सगरमाथा आरोही), कोहि पुष्पा बस्नेत (सि. एन्. एन्. हिरो २०१२), कोहि मदर टेरेसा (समाजसेवीàनर्स) र कोहि कल्पना चावला (अन्तरिक्ष यात्री, भारत) पनि हुन सक्थिन्| सोच्नुस्, माथि उल्लेखित यि महान् र प्रतिभाशाली नारीहरुको बुबा-आमाले पनि गर्भमा नै उनीहरुलाई हत्या गरिदिएको भए, के आज अनिहरुको राष्ट्रले गर्व गर्न पाउने थियो त?!

जीवनको हरेक विपत्ति र समस्यामा देवीको आरधना गर्ने नेपाली समाजमा कन्याको जन्मलाई चाहिँ किन अझै पनि अभिशाप मानिएको हो!? यो संकीर्ण मानसिकताको उद्‍भव दाइजो रुपी दानवबाट भएको होला| तर दाइजोको डरले हत्या जस्तो घृणित कुकर्म गर्नु कति सम्म उचित होला त? हिंसाको यो नयाँ रुप हाम्रो संस्कृति र हाम्रो संस्कारको उपहास हो| नारी बिना सृष्टि चक्र सम्भव छैन| यहि पारा रह्यो भने, त्यो दिन टाढा छैन जब १०० पुरुष बराबर १ नारीको रेसिओ (१००:१) होला, अनि वंशको चिरागको मुख हेर्न तड्पिरहेका नयनहरु नि कहिल्यै तृप्त नहोलान्!

यस्तै अहिलेका जल्दा-बल्दा विषयवस्तुलाई लिएर धेरै बेरसम्म कुराकानी गरिसकेपछि उसले मलाई भन्यो, “अब के गर्छस् त साथी, संसार यस्तै छ, अहिले जे छ, जस्तो छ र जसरी चलिरहेको छ, चल्न दे| हामीले भन्दा मात्र के हुन्छ र!”  अनि मैले उसलाई भने, “परिवर्तनको सुरुवात आफु स्वयं देखि गर्नुपर्छ, न कि अरुलाई तागेता गरिरहनु| आफु अरुको लागि एउटा ‘रोल मोडल’ बन्न सक्नु पर्छ, एउटा प्रेरणाको स्रोत! र यदि त्यति पनि सकिँदैन भने कम्तिमा पनि परिवर्तनको एउटा पाइला चलिदीएर त्यो परिवर्तनकारीहरुको आवाज मजबुद बनाउन त आवश्य नै सकिन्छ होला!” कि कसो आदरणीय स्रोताहरु?!