भर्चुअल टुर

म बाहिरको मनोरम दृश्य अवलोकन गरिरहेको थिएँ| त्यहाँ अद्‍भूत उत्कट सुवास आइरहेको थियो| एउटी सुन्दर युवती मेरो छेउको सिटमा आएर बसिन्| गाडी सरर गुडिरहेको थियो| त्यो सुन्दर युवती मेरो छेउमा आएपछि त मेरो सारा ध्यान उनमा नै केन्द्रित हुन गयो| ध्यान नजाओस् पनि त कसरी, उनी त्यस्ती राम्री जो थिइन्| पक्कै पनि उनलाई फुर्सदले नै बनाइएको हुनुपर्छ| उनको त्यो चटक्क मिलेको जिउडाल, रेशमी कपाल, ति निला-निला नयनहरु, अनि त्यो चुमिहालौँझैँ लाग्ने उनको त्यो अधर! यो सबले त एउटा कुनै पनि सद्दे पुरुषको नजर तन्थ्यो| झन् उनी त मेरै छेउको सिटमा बसेकी थिइन्|

गाडी चलिरहेको थियो र धेरै बेर देखि हामी चुपचाप नै थियौँ| हामी बीच केहि कुराकानी भएको थिएन| सायद उनी, म कुराकानीको थालनी गर्छु भनेर मलाई पर्खिराखेकी थिइन् होला, तर म भने अलि लजालु किसिमको नै थिएँ (अहिलेसम्म प्रारम्भिक कुराकानी केटीबाटै भएको छ), त्यसैले मैले पनि उनको प्रतिक्षा गरिरहेको थिएँ| यसरी नै हाम्रो यात्राक्रम अगाडि बढि नै रहेको थियो, त्यतिकैमा उनले आफ्नो ‘ब्याग’ बाट ‘कुरकुरे’ को प्याकेट खोलेर मलाई पनि, “लिनुस्” भनेर दिइन्| जहाँसम्म मलाई लाग्छ, न त उनलाई भोक लागेको थियो, न त ‘कुरकुरे’ खान मन नै लागेको थियो| सायद उनी पनि मसंग कुरा गर्न व्याकुल थिइन्| अन्ततः कुराकानीको प्रारम्भ उनले नै गरिन् र मलाई पनि अब कुराकानीको सिलसिला अगाडी बढाउन सहज वातावरण बन्यो|

त्यसपश्चात मैले हल्का दायाँ-बायाँका कुरापछि उनीसंग परिचय आदान-प्रदान गरेँ| उनले आफ्नो नाम “यशस्वी” बताइन्| हाम्रो कुराकानी पढाई, रुची, चलचित्र, संगीत देखि लिएर प्रेम अनि ‘बोइफ्रेन्ड’ र ‘गर्लफ्रेन्ड’ सम्म पुग्यो| उनले केहि नकारात्मक प्रतिकृया दिएकी थिइनन्| मैले अरु कुराको खासै केहि वास्ता नगरी प्रेमको कुरा चाहिँ कोट्याइँरहेँ| केहि समयपछि त उनलाई अफ्ठ्यारो महसुस पो भइरहेको छ कि जस्तो लगेर उनलाई सोध्न मात्र के आँटेको थिएँ, उनले, “तिमी त बढो ‘रोमेन्टिक’ पो रहिछौ”, भनिन्| त्यति सुनेपछि आफुलाई नि आत्मसन्तुष्टि भयो| आखिर त्यस्ती राम्री युवतीले त्यसरी सहजै राम्रो प्रतिकृया साथै तारिफ नि गरेपछि त जो सुकै युवाको नि हौसला सुदृढ भइहाल्छ नि!

गाडीले हल्लाउँदा हाम्रा हातहरु एक-आपसमा स्पर्श गर्न पुग्थे| उनले यो सबै कुराको कुनै नकारात्मक प्रतिकृया दिइनन्| त्यसपछि त मैले उनलाई जानाजान बिस्तारै-बिस्तारै छुन थालेछु| म आफुलाई सम्हाल्ने निकै प्रयत्न गरिरहेको थिएँ| म उनको मुटुको धड्कन महसुस गर्न सक्थेँ| सायद उनी पनि यो सबै चिजको परम आनन्द लिइरहेकी थिइन् होला! म त पहिला नै निकै धैर्यहिन भइसकेको थिएँ| त्यो क्षण त मलाई आफू स्वयंको मानोस्थति स्थिर राख्न समेत निकै मुस्किल परेको थियो| त्यतिकैमा मेरो एउटा हात उनको कम्मरमा पुगेछ भने अर्को उनको गालामा र बिस्तारै-बिस्तारै उनको त्यो अधर म तर्फ बढिरहेको थियो| उनले आफ्ना आँखा बन्द गरिसकेकी थिइन्| त्यतिबेला त मानौँ समय रोकिएझैँ लागिरहेको थियो| उनको र मेरो ओठको दुरी केवल केहि सेन्टिमिटरको मात्र थियो|

गाडीको ‘हरन’ ले म झसङ्‌ग भएँ| कानमा ‘इयरफोन’ थियो र त्यसमा त्यो सुमधुर गीत बजिरहेको थियो| छेउमा एक वृद्धा खलासीसंग पैसा (भाडा) मा झगडा गरिरहेकी थिइन्| अगाडिको सिटमा नानीहरु गनगन गरिरहेका थिए| अनि मेरो छेउको त्यो सिट भने खाली नै थियो| म एकछिन त यो के भइरहेको छ भनेर अलमल्ल परेँ, तर पछि फेरि आफैँ माथि हाँसो उठ्यो कि यो त केवल मेरो कल्पना मात्र थियो भनेर! तर अझै पनि म त्यहाँ त्यो अद्‍भूत सुवास महसुस गर्न सक्थेँ| अनि त्यो नाम “यशस्वी” पनि मैले पहिला सुनेको पनि थिइन, त यो सबै के थियो?! खै थाहा छैन कि त्यो साँचो थियो या केवल मेरो सोच, एउटा भ्रम, तर त्यो अनुभव एक यादगार अनुभव रहनेछ|